२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपालस्थित भारतीय दूतावासको सहयोग र स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको संयोजनमा १४ जना प्रतिनिधिसभा सदस्य भारत भ्रमणमा रहेका छन् । साउन १० गतेदेखि सुरु भएको भ्रमण २० गतेसम्म चल्ने छ ।
भ्रमणमा सांसदहरूले नयाँ दिल्ली र अहमदाबादको विभिन्न ठाउँको अवलोकन गर्नुको साथै विभिन्न उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा नेपाली सांसदहरूले भारतीय कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्नुको साथै त्यहाँको प्रमुखसँग छलफल गरेका छन् भने नेपाली सांसदहरूले नेपालको कृषि क्षेत्रमा सहयोग गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।
विवेकानन्द अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमा पनि सांसदहरूले विभिन्न व्यक्तिहरूसँग नेपाल–भारतको सम्बन्धको बारेमा छलफल गरेका छन् । बर्दियालगायत विभिन्न स्थानहरूमा सीमा नाका खुला गर्न, नेपालगन्ज-दिल्ली सिधा हवाई उडान गर्न, सन् १९५० को सन्धि कार्यान्वयन गर्न, पानीको समस्या समाधान गर्न दुवै देशले संयुक्त रूपमा पहल गर्नुपर्ने धारणा नेपाली सांसदहरूले राखेको बताइएको छ ।
उनीहरूले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा गएर नेताहरूसँग छलफल गरेका छन् । भारतका उद्योगपतिसँग पनि छलफल गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij