२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या भएको छ भने दुईजना घाइते भएका छन्।
कटैयाचौरी भन्ने स्थान नजिकै धनुषाकै बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन्। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति उनीहरुमाथि खुकुरी प्रहार गरेका थिए।
आशाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ। अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन्।
साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन्। मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij