२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटालाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पुरा गरेको छ ।
अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय, बाँकेमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
बैंकको सञ्चालक समितिका ३ जना अध्यक्ष र पदाधिकारीहरू मिलेर उक्त बैंकको ३ अर्ब २० करोड रकम अपचलन गरेको सीआईबीको अनुसन्धान निष्कर्ष रहेको छ । कर्णाली डेभलपमेन्ट बैंक बाँकेको नेपालगन्जमा सञ्चालित छ भने बैंक घोटालाबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा नेतृत्वको टोली नेपालगन्ज गएको थियो ।
प्रहरीले १ सय ८ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ भने ३ जना सञ्चालक समितिका अध्यक्षहरू, ८ पदाधिकारी, ४ जना शेयर धनी र ४० जना ऋणीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न राय दिइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन् ।
पक्राउ पर्नेमा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत रहेका छन् । प्रहरीले १०४ जनालाई फरार कायम गर्न सिफारिस गरेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाइएको सीआईबीका एआईजी चन्द्र कुबेर खापुङले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij