२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सरकारले रोजगारदाता र रोजगारी खोजिरहेकाहरुलाई जोड्न तयार पारेको श्रम संसार पोर्टल नागरिक एपमा जोडिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम संसार अनलाइन पोर्टल नागरिक एपमा जोडिएको हो ।
मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका छन् । श्रमसंसार पोर्टल, नागरिक एपसँग जोडिएसँगै एकीकृत रूपमा विभिन्न सेवा प्रदान गर्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।
अब नागरिकहरूले आफ्नो मोबाइलमा रहेको नागरिक एपमार्फत नै रोजगारीका अवसरहरू खोज्न र सीधै आवेदन दिन सक्ने भएका छन् ।
प्रविधिको प्रयोगमार्फत युवाहरूलाई रोजगारीसँग सहजै जोड्न सक्ने बताउँदै भण्डारीले यस सुविधाले रोजगारी खोज्ने प्रक्रियालाई सरल, पारदर्शी र झन्झटमुक्त बनाउने विश्वास व्यक्त गरेका छन् ।
नागरिक एपभित्रै श्रमसंसार पोर्टलमा पहुँच स्थापित भएपछि प्रयोगकर्ताले आफ्नो योग्यता अनुसारको रोजगारी खोज्ने र आवश्यक कागजातसहित सोही एपबाट आवेदन दिने सुविधा प्राप्त गर्ने छन् ।
उक्त सेवा प्रयोग गर्नका लागि नागरिकहरूले आफ्नो नागरिक एपलाई पछिल्लो संस्करण २.०.८३ भर्सनमा अद्यावधिक (अपडेट) गर्नु पर्ने छ । नयाँ संस्करण एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्मका लागि उपलब्ध गराइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij