Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गण्डकीमा ६ सय बढीमा डेंगु सङ्क्रमण

गण्डकीमा ६ सय बढीमा डेंगु सङ्क्रमण


  • 1.3K
    Shares

    गण्डकीमा ६ सय बढीमा डेंगु सङ्क्रमण
    images

    काठमाडौं । गण्डकी प्रदेशमा गत पुसयता ६ सय नौ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगु सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    गत जेठमा एक सय ६९ जनामा डेंगु देखिएकामा असार लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा तीन सय सात, तनहुँमा एक सय एक, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा चार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    हालसम्म मुस्ताङ र मनाङमा भने डेंगुका बिरामी भेटिएका छैनन् । कास्कीमा सङ्क्रमण पुष्टि भएका तीन सय सातमध्ये एक सय तीन जना पोखरा महानगरपालिकाका रहेका छन् । प्रदेशभरमा हालसम्म पुष्टि भएका डेंगु बिरामीमध्ये झन्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन् । 

    साउनदेखि कात्तिकसम्म डेंगु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रमणको दर बढ्दै जाने जनाइएको छ । प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले डेंगु सङ्क्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताए । गत वर्ष प्रदेश राजधानी पोखरा डेंगुको ‘हटस्पट’ बनेकाले यस वर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उनको भनाइ छ । 

    पोखरा महानगरसहित प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेंगु फैलनबाट रोक्न डेंगु सार्ने लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन् । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको छ । गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेंगु सङ्क्रमण भएको थियो । डेंगु सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । 

    गत वर्षको भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा छ गुणाले डेंगु सङ्क्रमण बढेको थियो । लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि सुरु गर्दै आए पनि डेंगु रोकथाम चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगु रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनीहरूको भनाइ छ । 

    डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत स्थानमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीले बताए ।

    डेंगु रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको उनको भनाइ छ । ‘सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको सोही जीवनचक्र खलबल्याउन वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो’, उनले भने ।

    सङ्क्रमितले तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक तिवारीको भनाइ छ । डेंगुको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने प्रमुख उनले बताए । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु लाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु नियन्त्रणको उत्तम उपाय भएको उनले बताए । 

     

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - १५:५२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij