२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद नयाँ मोड लिएको छ । केन्द्रीय समितिको बैठकको माग उठिरहेको वेला सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सो पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई दिएकी छन् ।
पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका थिए । ११ गतेसम्म बैठक नबोलाए त्यही दिन २ बजे केन्द्रीय समितिको बैठक बोलाएर आवश्यक निर्णय लिने भनिएको थियो । तर अध्यक्ष श्रेष्ठले केन्द्रीय समितिको बैठक नै नबोलाई आफ्नो सम्पूर्ण अधिकार दिएर बास्तोलालाई कार्यवाहक बनाएकी हुन् । भनिन्, ‘अस्वस्थ्य भएकाले बास्तोलाई कार्यवाहक दिएको हुँ, अब उहाँले सबै काम कारवाही हेर्नुहुन्छ ।’
यता बहुमत सदस्यहरूको बैठक पुरानो बानेश्वरमा बस्न लागेको छ । २४ घण्टाको अल्टिमेट दिइएको र अध्यक्ष श्रेष्ठले बैठक नबोलाएका कारण बहुमत केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको सो पार्टीका नेता रामलाल डगौंराले जानकारी दिए । उनले भने, ‘शिव बास्तोला २१ जना संस्थापकमध्ये होइन, अध्यक्षज्यूले उहाँलाई कार्यवाहक दिन मिल्दैन, कसरी दिनुभयो थाह छैन ।’
बैठक बसिरहेको र त्यसबारे पनि आवश्यक निर्णय हुने उनले बताए ।
कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवा प्रकरणलाई लिएर पार्टीमा नयाँ विवाद उत्पन्न भएको छ । सोही प्रकरणलाई लिएर रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाए पनि अध्यक्ष श्रेष्ठले उक्त बैठकलाई मान्यता नदिने भनेपछि बहुमत केन्द्रीय सदस्यले २४ घण्टे अल्टिमेट दिएका थिए । तर त्यसलाई पनि उनले अस्वीकार गर्दै अर्को नेतालाई कार्यवाहक दिएकी हुन् ।
सरुवा प्रकरणलाई लिएर श्रेष्ठले अख्तियारमा बयान पनि दिइसकेकी छिन् ।
रेशम चौधरी जेलमा रहेका वेला रञ्जिताकै अध्यक्षतामा २०७८ पुसमा यो पार्टी गठन भएको थियो । यो पार्टीले २०७९ को चुनावमा अपेक्षाकृत राम्रै नजिता ल्यायो । २०८० जेठमा रेशम रिहा भएपछि पार्टीका गतिविधि सशक्त गतिमा बढिरहेको थियो ।
तर २०८० पुसमा पार्टीको महाधिवेशन भयो अनि आन्तरिक विवाद सुरु थाल्यो । रेशम महाधिवेशनबाट पार्टीको अध्यक्ष भए, जुन रञ्जितालाई मन परेन । उनी पनि अध्यक्षको आकांक्षी थिइन् । रञ्जिता महाधिवेशन स्थल छाडेर काठमाडौँ आएपछि पार्टीको विवाद झनै छताछुल्ल भयो । त्यतिबेला रञ्जिता श्रेष्ठ भूमि मन्त्री थिइन् ।
रेशम अध्यक्ष भएपछि निर्वाचन आयोगमा मुद्दा पर्यो । र अध्यक्षमा रञ्जितालाई नै कायम भइन् । त्यसवेलादेखि पार्टीभित्र द्वन्द्व सुरु भएको हो । पार्टीमा गुटगत राजनीति सुरु भयो । त्यो गुट स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म देखियो । कहिले मुख्यमन्त्रीका लागि विवाद त कहिले मन्त्रीका लागि विवाद भइरह्यो ।
पार्टीभित्रकै विवादका कारण सुदूरपश्चिम प्रदेशमा पाउने मुख्यमन्त्री नागरिक उन्मुक्तिले पाएन । मन्त्रीका लागि विवाद भइरह्यो । सुदूरपश्चिमका दुई मन्त्री बर्खास्तीमा परेपछि पार्टीले केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीमा विवाद यतिसम्म देखियो कि, केन्द्रीय समिति कहिले पनि एउटा मितिमा बसेन । एउटा गुटले बोलाएको बैठकमा अर्को गुट नजाने, अर्कोले बोलाएको बैठक अर्को जाने परस्थिति सधैँ भइरह्यो । रञ्जिताले संस्थापक केन्द्रीय समितिलाई मान्यता दिन्छिन् भने रेशमले महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई मान्यता दिएका छन् ।
एकपटक दुवै जनाबिच कुरा मिलेपछि महाधिवेशबाट बनेको केन्द्रीय समिति र संस्थापक दुवै पक्षको बैठक बसेको थियो । त्यसपछि जनमत पार्टीसँग एकताका लागि छलफल गर्न बैठक बसेको थियो ।
यद्यपि पार्टीकै आन्तरिक विवादका कारण जनमत पार्टीसँग अन्तिम समयमा एकता हुन सकेन । एकता हुने दिन एउटा नक्कली पत्रको आधारमा रेशमलाई पक्राउ गरेपछि एकता प्रक्रिया भाँडियो । र सोही प्रकरणपछि जनमतसँग नागरिक उन्मुक्तिको ुएकता च्याप्टर क्लोजु भइसकेको छ ।
र अहिले आएर पार्टीमा नयाँ ट्विस्ट थपिएको हो । यो घटनाले पार्टीलाई कहाँ पुर्याउँछ त्यो आजको केन्द्रीय समितिको बैठकले तय गर्ने एक नेताले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij