२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उप-आयोजना-२ अन्तर्गत सञ्चालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’को पहिलो चरणको काम सम्पन्न भएको छ।
पुराना र जीर्ण पाइपलाइन विस्थापन गर्दै स्वच्छ, चुहावटरहित र समानुपातिक ढंगले पानी वितरण गर्ने उद्देश्यसहित सुरु गरिएको योजनाले वितरण संरचना निर्माणको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको हो।
आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १० वटा नयाँ पानीपोखरी निर्माण गरिएको छ, जसको कुल भण्डारण क्षमता ७४ हजार ५०० घनमिटर रहेको छ।
यस्तै, सुन्दरीजलस्थित प्रशोधन केन्द्रदेखि विभिन्न पानीपोखरीहरूसम्म दैनिक २२ करोड लिटर क्षमताको करिब ७७ किलोमिटर ‘थोक वितरण प्रणाली’ निर्माण गरिएको छ।
पानीपोखरीबाट उपभोक्ताका घरसम्म पानी पु¥याउन १ हजार १० किलोमिटर लामो वितरण पाइपलाइन बिछ्याइएको छ। हाल नयाँ प्रणालीबाट वितरण भइरहेकाले पानीको चुहावट न्यून देखिएको छ।
त्यस्तै, गुहेश्वरी र धोविघाटमा दुईवटा फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेका छन्। गुहेश्वरी केन्द्रको दैनिक प्रशोधन क्षमता ३ करोड २४ लाख लिटर र धोविघाटको ३ करोड ७० लाख लिटर रहेको छ। थप तीनवटा केन्द्र कोड्कु, सल्लाघारी र धोविघाटमै निर्माणाधीन छन्।
यससँगै ऐतिहासिक पाटन दरबार क्षेत्रमा युनेस्को मापदण्डअनुसार ढल प्रणाली निर्माण गरिएको छ। साथै, आगलागी नियन्त्रणका लागि उपत्यकाभर ३४८ वटा फायर हाइड्रेन्ट जडान गरिएको छ।
निर्माण सम्पन्न भइसकेका संरचनामध्ये १४ वटा वितरण क्षेत्रको स्वामित्व उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ भने बाँकीको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij