२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमितका बिरामीलाई हेलिकप्टरमार्फत् झापा ल्याइएको छ ।
आइसियूसहितको उपचार कक्ष नपाइएपछि झापा शिवसताक्षी-५ का कोरोना संक्रमितलाई विर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको हो ।
सोमबार दिउँसो १ बजे काठमाडौंको मनमोहन मेडिकल कलेजबाट ३५ वर्षीय मदन पाठकलाई हेलिकप्टरमार्फत् उपचारका लागि विर्तामोडको बिएण्डसी अस्पताल ल्याइएको छ।
अस्पतालले उनलाई आइसियूमा राखेर उपचार सुरू गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । पाठकलाई सिम्रिक एयरको हेलिकप्टरले बिएण्डसी ल्याएको गिरीले बताए ।
पाँच दिनअघि पनि शिवसताक्षी नगरपालिका घर भई काठमाडौं बस्दै आएका सङ्क्रमित नरप्रसाद उप्रेतीलाई पनि हेलिकप्टरमार्फत् उपचारका लागि बिएन्डसी ल्याइएको थियो ।
‘मनमोहन अस्पतालमा आइसियू बेड नभएको र भेन्टिलेटरसमेत चाहिन सक्ने डाक्टरले औंल्याएपछि बिएण्डसी ल्याइएको आफन्तले बताएका छन्,’ गिरीले भने ।
बिएण्डसीमा अहिले १९ जना कोरोना संक्रमित छन् । त्यसमध्ये ९ जना आइसियूमा छन् । बिएण्डसीमा २५ बेडको आइसियूसहितको भेन्टिलेटर छ । हालसम्म भेन्टिलेटरमा भने कसैलाई राख्नुनपरेको गिरीले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij