२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । शुक्रबार उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
साउन ५ गते उनी काठमाडौंको टोखाबाट पक्राउ परेका थिए । यसअघि पनि उनलाई तीन दिन म्याद थप गरिएको थियो । उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।
अग्रवाल पटकपटक विवादमा आइरहने सेयर लगानीकर्ता हुन् । उनीमाथि सेयर बजारमा चलखेल गर्ने गरेको आरोप लाग्ने गरेको छ । अग्रवालले सेयर किन्न सर्वसाधारणलाई उस्काउने र आफूले किनेको सेयर बेचेर बाहिरिने गरेको आरोप लाग्दै आएको छ ।
उनले फेसबुक, टिकटक, क्लबहाउससहित विभिन्न सामाजिक सञ्जालमा उनले साना लगानीकर्तालाई प्रभावमा पार्ने गरी अभिव्यक्ति दिइरहेका हुन्छन् ।
यसअघि, अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) बीच पनि विवाद देखिएको थियो । सिप्ला सेक्युरिटिजले ०८१ असोजमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा समेत उजुरी दिएको थियो । अग्रवालले १६ करोड रुपैयाँ नदिएको आरोप सिप्ला सेक्युरिटिजको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij