२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो दुर्घटना भएको छ । उक्त दुर्घटनामा चालक सहित १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिका-२, बढाई ज्युला भन्ने स्थानमा भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीका अनुसार दिउँसो करिब १ः ०० बजे दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार कार्य सुरु गरिएको थियो ।
खत्री अनुसार नजिकैको प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर वलीको कमान्डमा ४ जनाको टोली तत्कालै घटनास्थलमा पुगेको थियो ।
साथै, इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा ६ जनाको थप टोली पनि उद्धारका लागि पठाइएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij