२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।
एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए ।
उनका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए । गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।
‘पहिरोले राति घर पुरिँदा पतिपत्नी बेपत्ता भएका र बुहारी ३२ वर्षीया पवित्राले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाले भने, ‘हाम्रो टोली उद्धारको लागि घटनास्थलतिर जाँदैछ। सबै विवरण आइसकेकाे छैन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij