Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

काठमाडौंमा बढ्यो डेंगीको जोखिम

काठमाडौंमा बढ्यो डेंगीको जोखिम


  • 1.2K
    Shares

    काठमाडौंमा बढ्यो डेंगीको जोखिम
    images

    काठमाडौं । नियमित पानी परेकाले डेंगी संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । 

    विगत एक महिनादेखि नियमित जसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिए ।   

    डेंगीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको पनि भुषालले जानकारी दिए ।  

    जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमा भन्दा  बढी पानी पर्ने भनेपछि डेंगीको जोखिम झन् बढ्ने महानगरले जनाएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोल टोलमा पानी जमेको स्थानको सरसफाइसमेत गरिरहेका छन् ।

    डेंगी रोग नियन्त्रण गर्नका लागि सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३२ वटै वडामा रहेका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।  

    डेंगीको मुख्य लक्षण 
    डेंगी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछन् । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जमेको दाग देखापर्नेलगायत लक्षण रहेको भुषालले जानकारी दिए । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने छ ।

    डेंगीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , काम नलाग्ने र पानी भरिनसक्ने सामान जस्तै बोतल, टायर, प्लाष्टिकका वस्तु पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेट राम्ररी सफा गर्नेलगायत उपाय अपनाउन महानगरको आग्रह छ । 

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १४:४०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij