२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । बुधबार साँझ ८ः२० बजे भएको उक्त दुर्घटनामा परी तारकेश्वर नगरपालिका–८, भेटघाट चोकका ७१ वर्षीय कुलबहादुर आचार्यको ज्यान गएको हो ।
प्रहरी वृत्त, बालाजुका अनुसार बुधबार साँझ करिब ८:२० बजे तारकेश्वर नगरपालिका-८, शिव मन्दिरस्थित सडक खण्डमा बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका आचार्यलाई ठक्कर दिएको थियो । तारकेश्वर-३, पाँचमानेका २२ वर्षीय नवीन घिमिरेले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि राति ९:३० बजे टोखास्थित ग्राण्डी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा राति ११:२० बजे चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक नवीन घिमिरे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । चालक घिमिरे हाल प्रहरी वृत्त, बालाजुको हिरासतमा छन् भने मोटरसाइकल नेपालटार ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij