२०८२ चैत्र १ गते आइतवार
अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ।
नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत् सो सहयोग प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
‘यो थप सहयोगले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी रोगको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाप, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहमा थप कामहरु गर्नका लागि सहयोग पुग्नेछ,’ दूतावासले भनेको छ ।
नेपाल र यूएसएड मिलेर सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्नेछन् । सो सहयोगबाट कोभिड काउन्सिलिङ (परामर्श), पोषण परामर्श, स्वास्थ्य सेवामा पहुँच, जटिल एचआईभी सेवा प्रदान लगायतका सेवा प्रदान गरिने बताइएको छ ।
कोरोना महामारीको सुरुवातदेखि नै नेपाललाई अमेरिकाले सहयोग गर्दै आएको जनाउँदै दूतावासले यो समस्यामा नेपाल सरकारसँग सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘अमेरिका र नेपालबीचको ७०–वर्षे बलियो सहकार्य र साझेदारीलाई थप सशक्त पार्ने अमेरिकाले आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याउँछ,’ दूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij