Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको चिन्ता

प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको चिन्ता


  • 7.6K
    Shares

    प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको चिन्ता

    डोटी । जिल्लामा पछिल्लो केही सातायतादेखि कोरोना सङ्क्रमण दर निकै बढ्दै गएको छ । यहाँका प्रमुख सहर बजारभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी सङ्क्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

    भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरूले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित दर बढ्दै गएको पाइएको स्वास्थ्यकर्मी बताउँछन् ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ भने कम्तीमा १०० भन्दा बढी सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुने प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको बताइएको छ ।

    भारतबाट आएका नागरिक राख्ने क्वारेन्टिन तथा कोरोना सङ्क्रमित भएकाहरू राख्ने ठाउँ अभावमा समस्या हुँदै आएको जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए । उनले भने, “कोरोना सङ्क्रमित हुने दर ह्वात्तै बढ्यो, उपचार गर्ने ठाउँ अभाव छ, अब कहाँ राखेर उपचार गर्ने समस्या हुने स्थिति आउँदछ ।”

    यहाँका प्रमुख बजार दिपायल, सिलगढी, पिपल्ला तथा राजपुर क्षेत्रमा खासै कोरोना सङ्क्रमित नदेखिए पनि बिरामी परी गाउँबाट उपचार गराउन अस्पताल आएका नागरिकलाई जाँच गर्दा कोरोना सङ्क्रमण देखिने गरेको उनको भनाइ छ । यहाँका गाउँघरमा गहुँ बाली भित्र्याउने चटारो भइरहेका बेला एकाएक कोरोना सङ्क्रमण देखिएपछि किसान पनि चिन्तित बनेका छन् ।

    गाउँघरमा रहेका नागरिक अन्नबाली भित्र्याउन नपाउँदै कोरोनाले ज्यान लैजान्छ कि भन्ने चिन्तामा परेको जोरायल गाउँपालिका–५ का गङ्गाराम चोखालले बताए। स्वास्थ्य जाँच नगरी भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक अहिले गाउँमा गहुँ बाली भित्र्याउन तथा धानको बेर्ना राख्नमा व्यस्त हुने तथा गाउँका पसलमा जम्मा हुन थालको स्थानीयवासी बताउँछन् ।


    उनीहरूका अनुसार गाउँघरमा अहिले कोरोना त्रास फैलिएको छ । खेतमा काम गर्ने अधिकांश किसानले कोरोनाबाट बच्ने कुनै उपायसमेत प्रयोग गर्ने गरेका छैनन् । समयमै पाकेको गहुँ नकाटिए पछि के खाने भन्ने चिन्ताले आफू हिजोआज गहुँ काट्नमै व्यस्त हुने गरेको केआइसिंह गाउँपालिका–५ का किसान दिनेशबहादुर विकले बताए ।

    कोरोनाको चिन्ता मनमा भए पनि उक्त जोखिमलाई कुनै वास्ता नगरी किसान दिनहुँ गहुँ काट्न थालेका छन् । कोरोनाको सम्भावित जोखिम हुन नदिन सरकारले विभिन्न जिल्लामा लकडाउन गरे पनि वर्षभरिको उत्पादन गरेको गहुँ बाली भित्र्याउन जिल्लाका बजार तथा ग्रामीण क्षेत्रका किसानलाई भ्याइ नभ्याइ छ ।

    किसानलाई कोरोना सङ्क्रमण हुने चिन्तासँगै बेलाबेलामा मौसम परिवर्तन हुने हुँदा कतै खेतबारीमा पाकेको गहुँ भित्र्याउन पाइँदैन कि भन्ने अर्को चिन्ताले ग्रसित बनाएको गहुँ काट्नमा व्यस्त दिपायल सिलगढी नगरपालिका–४ की खिमादेवी विष्टले जानकारी दिए। उनले भने, “कोरोना त्रास त छ तैपनि वर्षभरिको खाने खेती हो, समयमै नभित्र्याए पछि के खाने, आफू मरे पनि बचेकाले त खालान् भनेर गहुँ भित्र्याउन थालेका छौँ ।” यहाँका गाउँघरमा गहुँ बाली प्रायः सबै ठाउँमा पाकिसकेकाले कोरोनाको कुनै प्रवाह नगरी किसान गहुँ भित्र्याउन व्यस्त छन् । 

    ‘खोइ मास्क’ अभियान !
    जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायलले जिल्लामा ‘खोइ मास्क’ अभियान सञ्चालन गरिरहेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर बढ्न थालेको तथा बिना मास्क यहाँका नागरिक बजार हिँडडुल गर्न थालेपछि उक्त अभियान सञ्चालन गरेको हो । कोभिड–१९ को सङ्क्रमण दोस्रो लहर फैलिइरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक प्रहरीले ‘खोइ मास्क’ अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोक खड्काले बताए ।

    पछिल्लो केही दिनयता ट्राफिक प्रहरीले मास्क नलगाएका सवारी चालक, यात्रामा सवार मानिस, बजारमा हिँडडुल गरिरहेका मानिसलाई लक्ष्य गरी ‘खोइ मास्क’ अभियान सञ्चालन गरिरहेको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरिरहेको सो अभियानअन्तर्गत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न परामर्श, प्लेकार्ड प्रदर्शन, माइकिङलगायत क्रियाकलापका माध्यमबाट सचेतना फैलाउने काम भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म यहाँका एक हजारभन्दा बढी नागरिकलाई कोरोनाबाट बच्न विभिन्न जानकारी दिइनुका साथै त्यत्तिकै सङ्ख्यामा मास्कसमेत वितरण गरिएको छ । जिल्लामा वैशाख ५ देखि १६ गतेसम्ममा कम्तीमा पनि १०० जनामा कोरोना सङ्क्रमण देखा परेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए । रासस

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - १०:३५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij