२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराएका हुन् ।
जोशीका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वषा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य भूभागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उहाँले बताएका छन् ।
निर्देशक जोशीकाअनुसार नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर भएपनि गत वर्ष १६९१।३ मिलिमिटर वर्षा भएको थियो, जुन ११३ प्रतिशत हो । उनले मौसम पूर्वानुमानलाई लिएर मिडियामा आएको ‘३०/४० वर्ष यताकै धेरै पानी पर्छ’ भन्ने दाबीलाई सही नभएको समेत स्पष्ट पारेका छन् ।
उनले भने, ‘यस वर्षको हामीले मौसमी पूर्वानुमान आँकलन गर्दाखेरी चाँही सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ । सम्भवतः गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य देशका अन्य भूभागमा औसतभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ । यति हुँदाहुँदै पनि विपद् हुन्छ कि हुदैन भन्ने कुरा महत्वपूर्ण हो ।
नेपालमा सरदर वर्षा हुने भनेको १४९८.४ मिलि मिटर हो भने पोहोर साल १६९१.३ मिलिमिटर पानी परेको छ । जुन भनेको ११३ प्रतिशत हो । यो वर्ष त्योभन्दा पनि बढी वर्षा हुने सम्भावना छ । तर मिडियामा ३०/४० वर्षभन्दा बढी पानी पर्ने भयो भनेर मिडियामा आएको छ । त्यस्तो चाँही होइन । पहिले चाँही दिनभर मसिनो पानी पर्ने हुन्थ्यो भने अहिले जलवायु परिवर्तनको असरका कारण २/३ घण्टामै धेरै ठुलो पानी पर्ने २/४दिन पानी परेर मनसुन ब्रेक भएको जस्तो हुने अवस्था छ ।’
जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको बताउँदै उनले विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij