२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोडेको हो ।
केसीको तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ठा घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए ।
तर केसीका परिवारले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले सुनवाइ गर्दै उनलाई थुनामुक्त गरिदिएको थियो । थुनामुक्त हुनुअघि केसीले ६ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बिताएका थिए ।
जयवीरकै नामबाट जाहेरी दिए पनि अभियोगपत्र दर्ता गर्दा भने उनको नाम लुकाइएको छ । प्रहरीले जयवीरलाई परिवर्तित नाम ‘साइबर ब्यूरो ५५’ दिएर अभियोगपत्र बनाएको हो ।
अभियोगपत्रमा केसीबाट मनासिब क्षतिपूर्ति पनि जयवीरलाई भराउनुपर्ने मागदावी गरिएको छ । साथै, पीडीत राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ । काठमाडौंको पाँचतारे हिल्टन होटल खरिद गरेको भन्ने केही मिडियामा आएको समाचारका आधारमा केसीले स्टाटस लेखेका थिए ।
उनको स्टाटस यस्तो थियोः
भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडां नक्साल स्थित हिल्टन होटल खरिद गरेका छन् ।
यो स्टाटस केही समयपछि उनी आफैंले हटाएका थिए । आफूले सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत केही मिडियाबाट जयवीरले ८ अर्बभन्दा बढी मूल्य पर्ने होटल खरिद गरेको थाहा पाएपछि यसप्रति असन्तुष्टि जनाउन स्टाटस लेखेको बयान केसीले प्रहरीलाई दिएका छन् । यद्यपि, उक्त समाचार सत्य नभएको कुराहरु आएपछि आफूले स्टाटस हटाएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij