२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
पनौती नगरपालिकाले स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार तोकिएको समय असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन ।
पनौतीमा समानीकरण सङ्ख्या नपुग्दाको कारण असार ९ गते नै सुरु भएको नगरसभा स्थगन गरिएको छ । सोमबार निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिला सुरु गरिएको बजेट अधिवेशन राष्ट्रिय गानलगत्तै नगरप्रमुख रामशरण भण्डारीबाट स्थगित गरिएको थियो ।
नगर उपप्रमुख गीता बञ्जारा, वडा नं ७ का वडाध्यक्ष तथा नगरसभा सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरेको घोषणा गरिएको थियो भने कार्यपालिकामार्फत विधि र प्रक्रिया सबै पूरा गरिए पनि अन्तिम समयमा अनुपस्थित भएकाले बैठक स्थगित गर्न बाध्य भएको बताइन्।
बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरित करिब ५ करोड बजेट थप भएर आएकाले बैठकमा सहभागी नभएको बताइन्। जम्मा ६२ सदस्यीय नगरसभामा नगर प्रमुख, वडा नं ४ का वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) बाट एक वडाध्यक्ष रहेका छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।
धुलिखेल नगरपालिकाले असार ५ गते ९ अर्ब १८ करोड ४८ लाख ५० हजार, असार ६ गते बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २८६, असार ९ गते नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १६० तथा महाभारत गाउँपालिकाले ६० करोड १३ लाख एक हजारको बजेट गाउँसभामा प्रस्तुतको थियो ।
मङ्गलबार एकै दिन जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका हुन् । पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८०२ र मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ को बजेट प्रस्तुत गरे ।
त्यसैगरी, रोशी गाउँपालिकाले ७२ करोड ४ लाख ३७ हजार, बेथानचोकले ६४ करोड ७३ लाख ५ हजार २४३, भुम्लुले ६२ करोड ९१ लाख ३९ हजार र चौरीदेउरालीले ६९ करोड पाँच लाख ५ हजारको बजेट आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेका हुन् ।
तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोलाले ५२ करोड २३ लाख ३२ हजार ३५३ को बजेट प्रस्ताव गरेका छन् भने आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले सङ्घीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij