२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपाय अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन् ।
मन्त्रालयका अनुसार अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरू गरेको र उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता गराइसकेका छन् । योक्रम जारी नै छ । परराष्ट्र मन्त्रालयले गत बुधबार नै दोस्रो पटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो ।
परराष्ट्र मन्त्रालयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र नेपालीको सुरक्षा र उद्धारको तयारीबारे छलफल भएको छ ।
मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी पनि दिएकी छन् ।
राणाले भनिन्, ‘जीटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमाक्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ ।’
मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीलाई अनुरोध गरेको थियो । ती मुलुकमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई ‘अनलाइन भिसा’ उपलब्ध गराउनेलगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ ।
हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन् । त्यस्तै इरानमा १८ जना नेपाली रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij