Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मितेरी सहकारी प्रकरण

ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान

ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान


  • 1.2K
    Shares

    • images
    ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान

    काठमाडौं । कम्बोडियाबाट पक्राउ गरिएका ज्योति बहादुर भण्डारीविरुद्ध प्रहरीले नागरिकता र पासपोर्ट किर्ते गरेको कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।

    ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भण्डारीविरुद्ध  नागरिकता र पासपोर्ट किर्ते सम्बन्धी कसुरमा पनि अनुसन्धान थालिएको सीआईबीका एआईजी चन्द्रकुवेर खापुङले  बताए ।

    बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका भण्डारीले लिएको दुई वटा पासपोर्टमा फरक नागरिकता नम्बर उल्लेख गरेको भेटिएको छ । एउटा नागरिकतामा बर्दिया जन्मस्थान र अर्कोमा जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको एआईजी खापुङले जानकारी दिए ।

    भण्डारीको नाममा जारी भएको १०५४८६८८ नम्बरको पासपोर्टमा नागरिकता नम्बर १५८८३ र जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको छ । अर्को पासपोर्ट नम्बर ११३६४६९१ मा नागरिकता नम्बर १४८०३ र जन्मस्थान बर्दिया उल्लेख गरेको फेला परेको छ ।

    आरोपीले अन्य व्यक्तिहरूको राहदानी र नागरिकताको विवरण परिवर्तन गरेर काल्पनिक व्यक्तिहरूको विवरण राख्दै किर्ते गरेको नागरिकता र पासपोर्ट ठगीमा प्रयोग गरेको सीआईबीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । भण्डारीले फरक नामबाट फेसबुक र ह्वाट्स एप चलाएर ‘ठगी धन्दा’ चलाउने गरेको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।

    उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि ३ वटा ठगी मुद्दा दर्ता भएको देखिएको छ । तीनवटै मुद्दामा उनी फरार थिए ।

    मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ उनले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ र उनकी पूर्व पत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले भण्डारीलाई सहकारीका पदाधिकारीहरूसँग सम्पर्क गराएकी थिइन् । त्यसबेला थाइल्यान्डमा बस्ने भण्डारीले सहकारीका सचिव कृष्ण रानाले खाता सञ्चालन गरेको ग्लोबल आइएमई बैंकको इन्द्रचोक शाखामा ३३ करोड ११ लाख पार्सल पठाएको छु भनेर ह्वाट्स एपमा टोकन पठाएका थिए । त्यसपछि पार्सल रकम लिन कमिसन तिर्नुपर्छ भनेर ३ करोड ४४ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।  

    मितेरी सहकारीबाट १४४ जना बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरेर १४ करोडभन्दा धेरै रकम ठगी भएको अहिलेसम्मको अनुसन्धानबाट थाहा भएको छ । रकम अपचलनमा संलग्न अर्की आरोपी ज्योति गुरुङ फरार छिन् । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको छ । 

    हाल पक्राउ परेका भण्डारी विरुद्ध पनि २०८१ कार्तिक १३ मा रेड नोटिस जारी भएको थियो । उनलाई बिहीबार काठमाडौँ ल्याइएको हो । 

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १३:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij