२०८२ चैत्र २ गते सोमवार
काठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो। गत चैत १५ को तीनकुने घटनाका अभियुक्त राणा आज (सोमबार) नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। बकपत्र सकिएलगत्तै राणा इजलासमा थुनछेक बहस सुरु भएको थियो।
५० जना प्रतिवादीमध्ये राणा थुनछेक आदेश आउने ४०औँ प्रतिवादी हुन्। यसअघि छुटेका प्रतिवादीहरुसँग बढीमा एक लाख रुपैयाँ धरौटी माग गरिएको थियो। राणासँग सबैभन्दा बढी धरौटी माग गरिएको हो।
यसअघि थुनामा रहेका ३९ जनामध्ये ३२ जना धरौटीमा रिहा भएका थिए। दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। २०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।
यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो। त्यसयता प्रहरीको सम्पर्कमा नरहेका उनी आज अदालतमा उपस्थित भएका थिए। रविन्द्र मिश्र भने अदालत उपस्थित हुन बाँकी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij