Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार बनाउने तालिम

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार बनाउने तालिम


  • 1.8K
    Shares

    • images
    कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार बनाउने तालिम

    हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्रान्डिङ’ र ‘प्याकेजिङ’ सम्बन्धी तालिम दिएको छ। रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गरी स्थानीय युवालाई स्वरोजगार बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।

    ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानको वडा कार्यालयमा आयोजित सातदिने तालिम शुक्रबार समापन भएको छ। एकजना स्थानीय महिला उद्यमी र १२ जना विद्यार्थी सहभागी तालिममा कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट उत्पादन गरी प्याकेजिङ गरेर प्रदर्शन गरिएको थियो।

    तालिममा बनाइएका कोदोका परिकार हलेसी बजारको कोसेली घरमा बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहार दिने योजना छ। वडाध्यक्ष कमल गिरीले भने, ‘त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन र दर्शनार्थीले कोसेलीको रूपमा यहाँको उत्पादन खोज्छन्। कोदोको परिकारलाई प्रमुख उत्पादनको रूपमा ब्राण्डिङ गर्न तालिम आयोजना गरिएको हो। तालिममा सहभागीले व्यावसायिक रूपमा बनाएका परिकार नगरपालिकाले खरिद गर्छ। खरिद गरिएका परिकार कोसेली घरमा राखेर पाहुनालाई उपहार दिने योजना छ।’

    नगरपालिकाको कृषि शाखाले सञ्चालन गरेको तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएका खाद्य प्राविधिक आर्जन गौतमले गरे। निःशुल्क तालिम पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित छन्।

    नगरप्रमुख विमला राईले भने, ‘तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ सिके। तालिमले सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि दिएको छ। कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्न तालिम आयोजना गरिएको हो। यसले कोदोको उत्पादन, मूल्यवृद्धि र स्थानीय उद्यमशीलतालाई टेवा पुर्याउनेछ।’

    तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण, गुणस्तरीय उत्पादन, ब्राण्डिङ, प्याकेजिङ र बजारीकरणबारे व्यवहारिक ज्ञान र अभ्यास गराइयो। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन र एन्टि–अक्सिडेन्टलाई ध्यानमा राखी पोषण सुरक्षा र रोजगारीसँग जोड्ने प्रयास गरेको छ।

    समापनमा प्रशिक्षार्थीले बनाएका परिकारहरू अतिथि र सहभागीले अवलोकन गरी स्वाद परीक्षण गरे। सहभागीले बनाएका कोदोका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको बताइयो। सुक्खाग्रस्त क्षेत्रमा कोदो उत्पादन बढी हुने भएकाले यसलाई प्रवर्द्धन गरी विभिन्न परिकार बनाएर बजारीकरण गर्न तालिम आयोजना गरिएको हो।

    तालिमले युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने बालीको संरक्षण तथा सम्वर्द्धनमा योगदान पुर्याउने अपेक्षा छ।

    प्रकाशित मिति :जेठ ३१ २०८२ शनिवार - ०७:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij