२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न आग्रह गरेका छन् । उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरू सिप मेलाका कक्षाहरूमा मिहिनेत गरेर सिप सिकिरहेको उल्लेख गर्दै उनले यसको अवलोकनको लागि आग्रह गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको छ । गएको आर्थिक वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको हो।
यसअन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिइने प्रमुख शाहले जानकारी दिए । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने महानगरको लक्ष्य राखिएको छ ।
शाह भन्छन्–सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत सिप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने मेलाको लक्ष्य हो । १० वटा विधामा ३७ वटा पेसासँग सम्बन्धित तालिम पूर्ण निःशुल्क हुन् । मेलामा आइसीटी क्षेत्रका ७ वटा पेसा, श्रृङ्गार अर्थात् ब्युटिसियनसँग सम्बन्धित ५ वटा पेसाका तालिम चलिरहेका छन् ।
मेलामा ज्योतिष र पुरोहित सम्बन्धी, कृषितर्फ फूलको सजावट (फ्लावर डेकोरेसन)र स्टक मार्केट सम्बन्धी तालिम चलिरहेका छन्। दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij