२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । वैदेशिक रोजगार विभागले मेनपावरहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड अनिवार्य गरेको छ ।
इजाजत प्राप्त संस्था (मेनपावर) नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको हो ।
विभागले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ एवम् प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने संस्थाहरूलाई गुगल लोकेसन अनिवार्य गरेको छ ।
वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरू, स्वीकृति प्राप्त शाखा कार्यालयहरू, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरू, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरू, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरू एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरूलाई नवीकरण गर्न भनिएको छ । अन्यथा कानुन बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
नवीकरण गर्दा आवश्यक पर्ने कागजातसँगै गुगल प्लस कोडसहित गुगल म्याप र सञ्चालक तथा कार्यरत कर्मचारीहरूको विवरण समेत निवेदन साथ पेस गर्न भनेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij