२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई बालबालिका बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिका–८ मनमै नजिक भेरी नदीमा पौडी खेल्ने क्रममा बालबालिका बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले शुक्रबार दिउँसो करिब २ बजेको समयमा उक्त घटना भएको जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–८ मनमै र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका जोड्ने भेरी पुल नजिकै जाजरकोटका तीन बालबालिका पौडी खेल्न गएका थिए।
बेपत्ता हुनेमा जाजरकोटको नलगाड नगरपालिका–८ मनमैका १० वर्षीय बालक महेश कुसारी र १२ वर्षीया बालिका आशा कुसारी रहेको प्रहरीले जनाएको छ। उनीहरूसँगै पौडी खेल्न सोही ठाउँकी बालिका भगवती नेपाली गएकी थिइन्।
उनी नदीमा पौडी खेल्दा बगेको अवस्थामा उद्धार गरेर आठबीसकोट नगरपालिकामा रहेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालबालिकाको खोजीमा स्थानीय नागरिक तथा सुरक्षाकर्मीहरू खटिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij