२०८२ चैत्र २ गते सोमवार
सप्तरी । कोशी नदीमा बेपत्ता भएका दुईजना सशस्त्र प्रहरी गोताखोरको खोजी शुक्रबार बिहानैदेखि सुरु गरिएको छ ।
बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा प्रदेशस्तरीय मनसुनजन्य विपद् पूर्वतयारी अन्तर्गतको सेमुलेशन अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी कोशी नदीमा बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्य शुक्रबार बिहानदेखि तीव्र पारिएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट डिएसपीको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना सुरक्षाकर्मी परिचालित गरिएको छ । यस्तै, सशस्त्र प्रहरी बल नं. ६ गण, सप्तरीबाट विपद् व्यवस्थापन तालिमप्राप्त २० जना सुरक्षाकर्मीसमेत अर्को टोलीमा परिचालन गरिएको छ ।
थप खोजी र उद्धार कार्यलाई सशक्त बनाउन सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा पाँचजना प्रशिक्षित गोताखोर बिहीबार राति नै घटनास्थलतर्फ पठाइएको डिएसपी थापाले बताए ।
बेपत्ता सुरज साउद र हरदेव राजवंशीले क्रमशः २०८० र २०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए । तालिमपछिको अवधि उनीहरूले विभिन्न स्थानमा उद्धार कार्यमा सहभागिता जनाउँदै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij