२०८२ फाल्गुण ३० गते शनिवार
राजधानीमा कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न पहिलो चरणमा दुई हप्ता निषेधाज्ञा लागू गरिएको छ।
मन्त्रिपरिषद्को बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखबाट दुई हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए। मन्त्री त्रिपाठीले भने, “देशभर एकै पटक निषेधाज्ञा जारी हुँदैन। कोरोना बढेको जिल्लामा स्थानीय प्रशासन अर्थात् प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्नेछन्।”
यसका लागि मन्त्रिपरिषद्ले मापदण्ड तोकेको छ। सक्रिय संक्रमितको संख्या हिमाली र पहाडी जिल्लामा २०० र शहरी क्षेत्र तथा तराईका जिल्लामा ५०० नाघेमा निषेधाज्ञा जारी गर्न सकिने मन्त्री त्रिपाठीले बताए।
निषेधाज्ञा जारी गर्दा पहिलो चरणमा दुई हप्ता लगाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। “कोरोना संक्रमणको चेन ब्रेक गर्न १० देखि १४ दिन लाग्ने विज्ञहरूले बताउँदै आएका छन्। त्यसैले संक्रमणको चेन ब्रेक गर्न पहिलो चोटि दुई हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेका हौं,” मन्त्री त्रिपाठीले भने।
अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले १६ देखि २२ वैशाखसम्म निषेधाज्ञा जारी गरेका छन्। अब यसमा एक हप्ता थपिनेछ। अन्य जिल्ला र शहरमा पनि पहिलो चरणमा दुई हप्ता निषेधाज्ञा जारी रहनेछ।
पहिलो चरणमा निषेधाज्ञा दुई हप्ता तोकिए पनि कति समय लम्बिने भन्ने यकिन गरिएको छैन। कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा हटाउने वा लम्ब्याउने भन्ने निर्णय हुने मन्त्री त्रिपाठीले बताए।
“अहिले सरकारले दिएको निर्देशन कडाइका साथ पालना गर्यौं भने गत वर्षको जस्तो लकडाउनमा जानु पर्दैन,” मन्त्री त्रिपाठीले भने, “यदि लापरवाही भइरह्यो, उदासीनता भयो, संक्रमण कम भएन भने कति समय जान्छ मैले पनि भन्न सकिने अवस्था छैन।”
मंगलबारसम्म राजधानीसहित देशका ९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जसमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, बर्दिया, सुर्खेत, कालिकोट र बाग्लुङ रहेका छन् ।
कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?
बाग्लुङ : ७ देखि १७ वैशाख
कालिकोट : १० देखि १७ वैशाख
बाँके : १३ देखि २० वैशाख
बर्दिया : १३ देखि १९ वैशाख
सुर्खेत : १४ देखि २० वैशाख
कास्की : १५ देखि ३० वैशाख
काठमाडौैं : १६ देखि २२ वैशाख
ललितपुर : १६ देखि ३० वैशाख
भक्तपुर : १६ देखि ३० वैशाख
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij