२०८२ चैत्र २ गते सोमवार
रोल्पामा तेह्रौँ दिनको पुन्य तिथिको प्रसाद खाएका एकसय १० जना भन्दा धेरै बिरामी परेका छन्। रोल्पा नगरपालिका–३ चौरपानी निवासी तिलकप्रसाद रोक्काको घरमा प्रसाद खानेहरु बिरामी परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
‘शनिबार तिलकप्रसादका बुवाको तेह्रौँ दिनको पुन्य तिथि रहेछ,’ डीएसपी विश्वकर्माले भने, ‘प्रसाद खाने गाउँभरिका मान्छे बिरामी परेका छन्।’
चिकित्सकले ‘फुड प्वाइजन’को कारण उनीहरु बिरामी परेको बताएका छन्। रोक्काको घरमा उनीहरुले दालभात, पुरी, अचारसहितको खाना खााएको थिए। बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ।
‘अहिलेसम्म अधिकांश बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। आठजनाको भने अहिले पनि जिल्ला अस्पतालमा उपचार जारी छ,’ डीएसपी विश्वकर्माले भने, ‘उपचाररत बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।’
१३ औँ दिनको पुन्य तिथिमा रोक्काका आफन्त र गाउँले गरेर झण्डै १५० जनाले खाना खाएका थिए। खानामा अचार खानेहरु बढी बिरामी परेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij