२०८२ चैत्र २ गते सोमवार
सुर्खेत । राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरेको छ।
चार जना युवतीलाई गुडिरहेको ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएलगत्तै प्रहरीले उनको खोजी थालेको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालका अनुसार शाहीलाई शनिबार बिहान १०ः३० बजे आठबीस नगरपालिकाको तुनीबगरबाट पक्राउ गरिएको हो।
‘घर्ती जगत’ नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको उक्त भिडियो केही दिनअघि सार्वजनिक गरेका थिए। भिडियोमा उनले ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो होइन?’ भन्दै प्रश्न गरेका छन्।
प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको छ। उक्त विषयमा विभिन्न संघसंस्था र व्यक्तिहरूले सुर्खेतमा समेत उजुरी दिएका थिए। भिडियो कुन ठाउँको हो भन्ने स्पष्ट नभएको तर पक्राउ गरिएका व्यक्तिसँग सोधपुछ हुनै बाँकी रहेको प्रहरीले जनाएको छ।
चार जना राउटे युवतीको बीचमा बसेका एक युवाले गलत हर्कत गरिरहेको भिडियो क्लिपमा देख्न सकिन्छ। अंगालो हालेर ‘ताजा ताजा’ भनेपछि राउटे युवतीहरूले असहज महसुस गरिरहेको देखिन्छ।
पक्राउ गरिएका व्यक्तिविरुद्ध साइबर अपराध, हिंसा लगायतका मुद्दा आकर्षित हुन सक्ने सोसेक नेपाल दैलेखका कार्यकारी प्रमुख हिरासिंह थापाले जानकारी दिए।
यसअघि २१ जेठ २०७८ मा सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर नजिकै राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबर्जस्ती मदिरा सेवन गराएर युवाहरूले यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक गरिएको थियो।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका-९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात-सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij