२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज जेठ १५ गते, गणतन्त्र दिवसका दिन सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दै छन्।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।
तर एमालेले कार्यक्रम गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहले प्रदर्शन गर्ने सहमति भएको छ। जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो।
राप्रपा र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दिउँसो २ बजेपछि शान्तिवाटिकामा कार्यक्रम गर्ने भएका हुन्। कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।
जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ ।
विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ ।
यसैबीच, अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij