२०८२ चैत्र २ गते सोमवार
हत्या अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएर जन्मकैद सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन्।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएलगत्तै उनी ललितपुरको नख्खु कारागारबाट रिहा पनि भइसकेका छन्। उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो। यसअघि रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
उनलाई सफाइ दिँदा उच्च अदालतले आलमको घरमा विष्फोट भएको र इँटाभट्टामा मान्छे पोलेको वस्तुनिष्ट प्रमाण नै नरहेको भनेको छ। उच्च अदालतले उक्त घटना भएकोप्रति नै शंका गरेको छ।
‘संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति ०६४/१२/२७ मा बम विस्फोट वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको। विष्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकहरूलाई इटाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरु अदालतले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउने’ राय उच्च अदालतका न्यायाधीशहरूले टिपाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij