२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । यातायात व्यवसायीले ७ बुँदे माग राख्दै यही जेठ १६ गतेदेखि देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
यातायात व्यवसायीहरुले पछिल्लो समय प्रदेश सरकारहरुले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावलीमा निजी सवारी साधनलाई पनि राइड सेयरिङ गर्ने पाउने व्यवस्थाका विरुद्धमा आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले प्रदेश सरकारहरुले संघीय ऐन कानूनको बर्खिलाभ हुने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली ल्याएकोले त्यसको विरोधमा आन्दोलन गर्ने तयारीमा रहेको बताए ।
उनले गण्डकी प्रदेशमा आगामी १६ गतेबाट पूर्णरुपमा सार्वजनिक यातायात बन्द रहेको बताए । अध्यक्ष स्वारले प्रदेश सरकारहरुले विभिन्न प्रभावमा परेर १५ वर्ष पुरानो चारपाङ्ग्रे निजी सवारी साधन र १० वर्ष पुरानो मोटरसाइकललाई पनि राइड सेयरिङका रुपमा सार्वजनिक सवारी साधनको रुपमा चल्न दिने व्यवस्था ल्याएको बताए ।
उनले उक्त व्यवस्थाले सार्वजनिक यातायातको आवश्यकता नै नभएकाले त्यसको विरोधमा आन्दोलन गर्न लागिएको उल्लेख गरे ।
उनले भने,‘ मोटरसाइकललाई कार्यविधि बनाएर सञ्चालन गर्ने दिने सार्वजनिक यातायात व्यवसायीहरुको सहमति हो । केन्द्रमा सञ्चालन भइरहेको छ । पर्यटकलाई हरियो नम्बर दिएको छ । राइड सेयरिङ मार्फत चल्ने सवारी साधनलाई पनि छुट्टै नम्बर प्लेट दिनुपर्छ । निजी सवारी साधनले यात्रुहरु बोक्ने हो भने यति धेरै लगानी गरेर सार्वजनिक सवारी सञ्चालन किन गर्ने ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij