२०८२ चैत्र २ गते सोमवार
काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झण्डै डेढसय जनालाई पक्राउ गरेको थियो। ती मध्ये केहीलाई म्याद थप नगरी र अरु पछि अनुसन्धानका क्रममा प्रहरीले रिहा गरेको थियो।
तर अन्तिमसम्म पनि संलग्नता देखिएको भन्दै अदालतबाट म्याद थप गरिरहेका २६ जनालाई भने अन्तिम दिनसम्म थुनेर छाडिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्दा आइतबार २६ जनाको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेर रिहा गरेको हो। उनीहरूलाई प्रहरीले ६० दिनसम्म थुनेको छ। आइतबार रिहा भएका केही व्यक्ति सुरुमै पक्राउ परेका थिए।
उनीहरूविरुद्ध प्रहरीले आपराधिक उपद्रवमा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो। तर अन्तिममा ११ जनालाई आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाएर बाँकीलाई रिहा गरिएको हो।
पक्राउ परेर थुनामा रहेका मध्ये देवबहादुर थापा मगर, राजा ठाकुर हजाम, प्रसिद्ध मल्ल, नविन ढकाल, अशोक पराजुली भन्ने आलोक पराजुली, इरफान हजाम, गणेशबहादुर गुरुङ, विवेक खनाल भन्ने विवेक रखाल, उपेन्द्र प्रसाद शाह, गणेश प्याकुरेल, सरुन थापा, स्टन भन्ने ईस्टन लामालाई रिहा गरिएको हो।
यस्तै भविन्द्र विसि, विकास ओली, जीवलाल पुरी, आशिस तामाङ, लिला राना, मनिश कुमार शाही, भगवती रोक्का, सरिता केसी भन्ने सरिता खत्री, सुदर्शन थापा, सीता देवी राई, कृष्ण कुमार बस्नेत, मुकुन्द दाहाल र राज कुमार राईलाई पनि घटनामा संलग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएको भन्दै रिहा गरिएको छ।
उनीहरूमाथि कुनै पनि कसुरमा मुद्दा नचल्ने निर्णय भएको हो। यस्तै अरु ११ जनालाई पनि प्रहरीले संगठित अपराधमा समेत संलग्न रहेको भन्दै म्याद थप गर्दै आएको थियो। संगठित अपराधमा मात्रै ६० दिनसम्म थुनामा राख्न पाइन्छ। तर प्रहरीले संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर मुद्दा भने आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाइएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij