Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

अत्यावश्यक कामबाहेक नेपालीलाई सीमाबाट भारत जान रोक

अत्यावश्यक कामबाहेक नेपालीलाई सीमाबाट भारत जान रोक


  • 3.8K
    Shares

    अत्यावश्यक कामबाहेक नेपालीलाई सीमाबाट भारत जान रोक

    गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकलाई उतै फर्काइएको छ । ७२ घण्टा यताको पीसीआर रिपोर्ट नभएको भन्दै उनीहरूलाई फर्काइएको हो।

    कोरोनाको दोस्रो लहरसँगै भारतमा अत्यधिक कोरोना संक्रमित बढेकाले पीसीआर रिपोर्ट नभएका भारतीय नागरिकलाई फर्काइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। उनले अत्यावश्यक कामबाहेक नेपालीलाई सीमा नाका भएर भारत जानसमेत बन्देज लगाएको बताए।

    कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाका कञ्चनपुर जिल्लामा पर्छ। गौरीफन्टा र गड्डाचौकी नाका भएर दिनहुँ हजारौँको संख्यामा नेपाली र भारतीयहरू नेपाल प्रवेश गर्ने गरेका छन् । सो नाकाबारे बुझ्न सोमबार दिउँसो कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँगै जिल्लाका सुरक्षा प्रमुख अनुगमनमा पुगेका थिए। नाकाबारे अनुगमन गरिरहेको समयमा दिउँसो ३ बजेतिर सो नाका भएर एउटा गाडीमा आएकामध्ये तीनजनाबाहेक अरू भारतीय नागरिक थिए ।

    नेपाली नागरिकलाई सीमामा राखिएको हेल्थ डेस्कमा परीक्षणपछि नेपाल भित्रिन दिइयो भने भारतीय नागरिकलाई पीसीआर रिपोर्ट नभएको भन्दै भारततर्फ फर्काइएको थियो । पछिल्लो समय प्रदेशका दुई जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या अत्यधिक बढ्न थालेपछि कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकले जिल्लामा रातिको समयमा हिँड्डुलमा पनि रोक लगाएको छ।

    बैठकले जिल्लामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा प्रतिबन्ध लगाउने सहमति भएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘यो रात्रिकालीन लकडाउन हो, निर्णय कार्यान्वयन नभए पूर्ण रूपमा लकडाउन हुन्छ।’

     

     

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:३३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij