Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निकिताको बिलौना

निकिता पौडेलको बिलौना– अब न्याय माग्न कहाँ जाऊँ ? कसलाई गुहारौँ ? जिउँदो लाश भएर हिँडेकी छु !

निकिता पौडेलको बिलौना– अब न्याय माग्न कहाँ जाऊँ ? कसलाई गुहारौँ ? जिउँदो लाश भएर हिँडेकी छु !


  • 1.0K
    Shares

    • images
    निकिता पौडेलको बिलौना– अब न्याय माग्न कहाँ जाऊँ ? कसलाई गुहारौँ ? जिउँदो लाश भएर हिँडेकी छु !

    रकाठमाडौं । सहकारी ठगी सम्वन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले आदेश सुनाएपछि पत्नी निकिता व्यथित बनेकी छन् । उनले आफ्नो अनुभूति र पिडा आज फेसबुकमा लेख्दै भनेकी छन्- मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ ।

    रविको आदेश आउने दिन शुक्रबार निकिता दिनभरि सर्वोच्च अदालतमा थिइन् । अन्तिममा कसैले आफूलाई फोन गरेर समाचार सुनाएको उनले बताएकी छन् ।

    त्यसको भोलिपल्ट उनले भैरहवा पुगेर रविलाई भेटिन् । भैरहवा जाँदै गर्दा आफूलाई जिउँदो लाशजस्तो प्रतित भएको उनले बताएकी छन् ।

    निकिताको स्टाटस यस्तो छः

    जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले । अन्याय हुँदैन भन्ने लागिरह्यो ।

    हाम्रो तर्फबाट बहस राम्रो भयो । बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ । बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें । न्यायप्रतिको विश्वास झनै बढ्यो ।

    करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे । केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए । आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।

    ‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए ।

    ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता । बाहिर निस्किँदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु । म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।

    शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन ।

    भोलिपल्ट (शनिवार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला। कसरी उहाँको अगाडि पुगें, थाहा छैन । सायद जिउँदो लाश भएर हिंडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किए ।

    केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ?

    गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ । थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १५:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij