२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले लगानी र बैंकिङ क्षेत्र सुधारको केही ऐन जारी गर्ने अठोट गरेको छ।
राष्ट्र बैंकले लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिने जानकारी दिएको छ ।
राष्ट्र बैंकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने प्रतिबद्धता गरेको छ।
आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ।
आन्तरिक आर्थिक गतिविधि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता एवं मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको क्रममा सहयोग पुर्याउने नेपाल सरकारका निकायहरु, उद्योग व्यवसायसँग सम्बन्धित संघ तथा संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, विद्वत वर्ग, सञ्चार माध्यमलगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीति कार्यान्वयनमा सदाझैँ सबैको सहयोग रहने राष्ट्र बैंकको विश्वास रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij