२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफू पटक पटक पक्राउ पर्दा आमाको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका छन्।
आमालाई उपचार गर्न नेपालगञ्ज लिएर गएको प्रसंग उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका हुन् । उनले आमाको अवस्था देख्दा आफूलाई राजनीति नै छाडिदिउँ जस्तो लागेको पनि उनले बताएका छन् ।
उनले लेखेका छन्-
'काठमाडौ बाट फर्केको दिनमा आमाको फोन आयो र भन्नुभयो - छोरा ! मलाई रिंगटा लागिरहन्छ । उपचार गराउन नेपालगन्ज लान्छौ । आमाको अवस्था र वचन मैले कसरी नकार्छु र ? हिजो आमालाई लिएर जिल्ला अस्पताल बर्दिया पुगेँ । सबै परिक्षण गर्दैगर्दा आमाले डाक्टरलाई भन्नुभएछ । म बिरामी भएको हैन डा.साप । मेरो छोरा रेशम लाई पुलिसले समातेर जेल पुर्याएको रात देखि सुत्न सकेको छैन । मेरो निर्दोष छोरालाई किन पटकपटक समातेर जेल लान्छन् हँ ? डा. सापले भन्नुभएछ - अब लान्नन् । आमा कम्जोर हुनुभएको छ । आमाको अवस्था हेर्दा लाग्छ,राजनीति छोडिदिउँ। दिनभरि घोत्लिरहेँ । बेलुकि भात खाँदा आमालाई सोधेँ - राजनीति छोडिदिउँ आमा ? मुखको गाँस चपाइसकेपछी आमाले जवाफ दिनुभयो - तैले राजनीति छोडे हामी सबै थारुहरुको बिजोग हुन्छ बा । अब त झन् छोड्नुहुन्न । त्यसपछि उहाँले भनेको शब्द म लेख्न सक्दैन...।'
चौधरीलाई गत वैशाख १७ गते विचाराधीन मुद्दाको सन्दर्भमा भनी पक्राउ गरी कारागार पठाइएको थियो । सो दिन उनी करिब ५ घण्टा थुनामा बस्नु परेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij