२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पोखरा विश्वविद्यालयको सम्बन्धनमा ललितपुरको सानेपामा सञ्चालित देशकै उच्चस्तरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन भएको छ ।
झन्डै चार वर्षदेखि प्राचार्य पदमा रही कलेजको नेतृत्व गर्दै आएका इन्जिनियर विरोध रिजालको पदावधी सकिएपछि सोही कलेजको अनुसन्धान समितिका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ कलेज सञ्चालक समितिको निर्णय अनुसार प्राचार्य पदमा नियुक्त भएका छन् ।
प्रा.डा. श्रेष्ठले विगत आठ महिनादेखि कलेजमा अनुसन्धानको वातावरण निर्माण गर्दै आएको कलेजबाट जानकारी प्राप्त भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेजमा आउन अगाडि प्रा.डा.श्रेष्ठले चाँगुनारायण नगरपालिका भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा २९ वर्ष काम गरेका थिए ।
अमेरिकाबाट अध्ययन सकाई नेपाल फर्केर सन् १९९४ मा नेकमा सेवा प्रवेश गरेका प्रा.डा.श्रेष्ठ उक्त कलेजमा प्राचार्य पदमा पहिलो पटक सन् २००९ देखि २०१२ सम्म र दोस्रो पटक सन् २०१८ देखि २०२३ सम्म काम गरेका थिए । नेकमा स्वामित्व विवाद भई कलेज बन्द हुने अवस्था आएपछि २०७५ सालमा प्रा.डा. श्रेष्ठ उक्त कलेजको नेतृत्व लिई कलेज बचाएका थिए ।
स्नातक र स्नातकोत्तर अध्ययन अमेरिकाबाट र विद्यावारिधी जापानबाट गरेका प्रा।डा। श्रेष्ठलाई नेपाल इन्जिनियरिङ परिषद्ले प्रोफेसनल इन्जिनियर र भारतको आइओईले चार्टर्ड इन्जिनियरको उपाधि दिएको छ ।
हाल जल तथा मौसम विद् समाज नेपालका अध्यक्षसमेत रहेका प्रा.डा. श्रेष्ठले नेपालको जलश्रोत सदुपयोगका विभिन्न आयोजनाहरूमा प्रविधिक सेवा दिइसक्नु भएको छ । देश विदेशमा कयौं अनुसन्धानात्मक सामग्रीहरू प्रकाशित गरिसक्नु भएका प्रा।डा। श्रेष्ठको नेतृत्वमा एभरेष्ट इन्जिनियरिङ कलेजले शैक्षिक तथा अनुसन्धान क्षेत्रमा कलेजलाई थप उचाईमा पुर्याउने कुरा उक्त कलेजमा प्रमुख कार्यकारी अधिकारी अरुणकुमार भण्डारीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij