२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । कोभिड–१९ का सक्रिय संक्रमितहरु ५ सयभन्दा बढी देखिएको काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी दिइएपनि उपत्यकाका सीडीओहरू त्यस्तो आदेश जारी गर्न हिच्किचाएका छन् । काठमाडौं शहर देशकै राजधानी भएकाले यहाँको विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै सीडीओहरू हच्किएका हुन् ।
यद्यपि आजै बस्ने तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठकले भीड नियन्त्रणमा भने कडाइ गर्ने भएको छ । तथापि सीडीओहरूको निर्णय गृह मन्त्रालयमा रिपोर्टिङ गरिने र माथिबाट जे आदेश आउँछ, त्यसअनुसार अघि बढ्ने उपत्यका प्रशासनको तयारी देखिन्छ ।
यसअघि वैशाख ६ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट हुन नपाउने गरी आदेश जारी गरेको थियो । सो आदेशको पालना गराउने दायित्व गृह प्रशासन र खासगरी सीडीओहरूको रहेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट देखिएका थिए । तर, प्रधानमन्त्री स्वयंले नै आदेश उल्लंघन गरेपछि सीडीओहरू पनि अब माथिबाटै निर्णय होस् भन्ने पक्षमा उभिएको स्रोत बताउँछ ।
उपत्यकाभित्र कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि लकडाउन गर्ने तयारी भएको छ।
आगामी बुधबारदेखि यातायातका साधन बन्द गरिने र आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसीको निर्णय रहेको बताइएको छ ।
पर्यटनमन्त्री भानुभक्त ढकालले ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति भयवह हुने बताइसकेका छन् ।
सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । साथै, कोरोना संक्रमण नियन्त्रणका लागि थप कदम चाल्नका लागि आज मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ ।
सीसीएमसीको निर्णय हेरफेरको तयारी
यसैबीच, आइतबार बसेको सीसीएमसीको बैठकले तयार पारेको सिफारिसमा सोमबार सामान्य हेरफेर हुने स्रोतले बताएको छ । ‘हिजो तयार पारेको ड्राफ्टमा आज केही हेरफेर हुन्छ’ स्रोतले भन्यो, ‘यसमा केही सुधार गरेर आजै साँझ ५ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुन्छ ।’
आज बस्ने मन्त्रिपरिषद बैठकले कोरोना रोकथामबारे केही नयाँ निर्णयहरु गर्ने सीसीएमसी स्रोतले बतायो । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने, यातायातका साधान जोरबिजोर प्रणालीका आधारमा मात्र चलाउन पाइने लगायतका निर्णयहरु हुन सक्ने स्रोतको भनाइ छ ।
विदेशबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नागरिकहरु, खासगरी भारतीय नागरिकलाई प्रवेश निषेध गरिने सीसीएमसीले सिफारिस गरेको छ । विमानमार्फत आउने विदेशीमाथि रोक लगाइने र नेपाली नागरिकको हकमा अनिवार्य क्वारेन्टिनमा राख्ने सीसीएमसीको सिफारिस रहेको स्रोतले बतायो ।
भारतीय सीमा नाकाहरुमा सरकारले यसअघि नै होल्डिङ सेन्टरहरु बनाउने भने पनि कार्यान्वयनमा आएको छैन । आज बस्ने मन्त्रिपरिषद बैठकमा सीमा नाकालाई कडाइ पूर्वक व्यवस्थापन गर्नेबारे सीसीएमसीले प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।
तीन जिल्लाका प्रजिअको बैठक बस्दै
कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । मध्यान्ह १ बजे संयुक्त बैठक बस्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भिड नियन्त्रणसम्बन्धी रणनीति तयार पारेर गृह मन्त्रालय समक्ष रिपोर्टिङ गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
प्रजिअ पराजुलीका अनुसार सार्वजनिक यातायातको भिडभाड नियन्त्रण गर्नेगरी बैठकले रणनीति तयार गर्नेछ । होटल, रेष्टुराँमा पनि कडाइ गर्ने प्रशासनको तयारी छ । तर, प्रजिअहरुको निर्णय गृहमा रिपोर्टिङ गर्ने भनिएकाले माथि बाटै निर्णय भएर आओस् भन्ने सिडिओहरुको चाहना देखिएको छ ।
तथापि, प्रजिअ पराजुलीको साकेतअनुसार उपत्यकामा चल्ने यातायातका साधनमा आजैदेखि जोर–बिजोर प्रणाली लागु हुने सम्भावना छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij