२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
गएराति रतुवामाई नगरपालिका-३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो। हुण्डरीको कारण लच्किएको जग्गेको बाँसले हाइ टेन्सन लाइनमा छुँदा कार्यक्रम स्थलमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ।
हावाहुरीको कारण घरमा गाडिएको बाँसको लिंगो हाइटेन्सन लाइनमा जोडिँदा दुर्घटना भएको प्रहरीको भनाई छ। करेन्ट लागेर रतुवामाई नगरपालिका वडा नम्बर- ३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो।
करेन्ट लागेर अर्की ३० वर्षीय राधाकुमारी सिंह घाइते भएकी छन्। उनको नगर अस्पताल झुर्कियामा उपचार गरिएको छ। रतुवामाई ३ मिर्चाडाँगीका मङ्गलकुमार सिंहका छोरा निरजकुमार सिंहको वैवाहिक कार्यक्रम चलिरहँदा घटना भएको हो।
हरियो बाँसको लिंगोमा हाइ टेन्सन लाइनको कनेक्सन हुँदा विवाहको रमाइलो हेर्न जम्मा भएका मानिसमा करेन्ट प्रवाह भएको स्थानीयले बताएका छन्। मृतक महिलाको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij