२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मुलुकभर कक्षा १२ को परीक्षा चलिरहेको छ । राजधानी केन्द्रित शिक्षक आन्दोलनका कारण तोकिएको मितिभन्दा १० दिनपछि वैशाख २१ गतेदेखि शुरु भएको परीक्षा जेठ २ गते सकिँदै छ । देशभरबाट परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी छन् । एक हजार ५९१ परीक्षा केन्द्र तोकिएकोमा करिब २० हजार सुरक्षाकर्मी खटाइएको छ । अहिलेसम्म चार वटा विषयको परीक्षा सम्पन्न भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हालसम्म एकाध कानुन उल्लंघनका घटना भएको छ । जसमध्ये एउटा घटना गम्भीर प्रकृतिको छ । प्रहरीले केन्द्राध्यक्ष र सह–केन्द्राध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । वैशाख २५ गते काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको साइपाल एकेडेमीबाट होटल म्यानेजमेण्टको प्रश्नपत्र बाहिरियो ।
‘हाई’ नामक इन्स्टाग्राम ग्रुपमा बाहिरिएको प्रश्नपत्र सेयर भएको थियो । प्रश्नपत्र ‘लिक’ भएपछि एक परिक्षार्थी महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पुगे । बसुन्धारास्थित मोर्गन इन्टरनेशनल स्कुलमा अध्ययनरत राज तामाङ्गको परीक्षा केन्द्र नयाँबजारमा रहेको मनास्लु पब्लिक स्कुलमा परेको थियो । उनले छानबिनको माग गर्दै उजुरी दिए ।
उजुरीमा भनिएको छ,‘मेरो अध्ययन ग्रुपमा प्रश्नको पत्र इन्स्टाग्राम ग्रुपमा (हाई) नामको ग्रुपमा सुजल श्रेष्ठले फरवार्ड गरेको पाए उक्त ग्रुपमा बिहान ७ः३७ मा सुजल श्रेष्ठले होटल म्यानेजमेण्ट र बिजनेश म्याथम्याटिक्सको प्रश्नपत्र फरवार्ड गरेपछि परीक्षापश्चात् महानगरीय प्रहरी वृत्त पुगेर उजुरी गर्न गए । मैले परीक्षा दिनुपर्ने भएकाले मोबाइल झोलामा राखेको थिएँ ।’
उनले निवेदनमा सो प्रश्नपत्र साइपाल एकेडेमीबाट बाहिरिएको उल्लेख गरेका छन् । लेखेका छन्,‘त्यस प्रश्नपत्रको पृष्ठ भागमा साइपाल एकेडेमी धुम्बाराहीको छाप देखिन्छ । परीक्षाजस्तो संवेदनशील विषयमा परीक्षा अगाडि बाहिर पठाउने पेपरमा संलग्न व्यक्तिहरुलाई आवश्यक कारबाही गरिपाऊँ । मैले अनुसन्धानमा सघाउने गरी मेरो मोबाइल यही निवेदन साथ पेश गरेको छु ।’
त्यसपछि बोर्ड र प्रहरीले अनुसन्धान थाल्यो । घटनामा संलग्न देखिएका साइपालका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष गणेश जोशी, सहायक प्रधानाध्यापक तथा सहायक केन्द्राध्यक्ष संज्ञा खतिवडा, परीक्षा डिपार्टका जीवनकुमार मडै र कर्मचारी रोशन कार्की पक्राउ परेका छन् । उनीहरुले मिलिभगतमा तस्बिर खिचेर पठाएको भनिएको छ । चारै जना महाराजगञ्ज प्रहरीको हिरासतमा छन् ।

त्यसपछि बोर्डले विज्ञप्ति नै जारी गर्यो । जसमा लेखिएको छ,‘मिति २०८२ साल वैशाख २५ गते सञ्चालित कक्षा १२ को परीक्षामा परीक्षाको मर्यादाविपरीत कार्य गरेको पाइएकोले साइपाल एकेडेमी मावि, सुकेधारा काठमाडौं केन्द्र नम्बर १५३४ का केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्काशन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको व्यहोरासमेत जानकारी गराइन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij