२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । विगत डेढ महिनादेखि सविन (नाम परिवर्तन) सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् सक्रिया खनियाँ नाम गरेकी युवतीसँग सम्पर्कमा थिए ।
काठमाडौंको टोखा बस्ने गरेको बताउने सक्रियाले सुरुमा ‘आफू राम्रो युवकको खोजीमा’ रहेको बताएकी थिइन् ।
उनीहरूबीच दिन प्रतिदिन अन्तरंग कुराकानी चल्न थाल्यो । सञ्जालबाटै भर्चुअल रुपमा माया–प्रेमको कुराकानीहरू हुन थाल्यो । कुराकानीकै सिलसिलामा प्रत्यक्ष भेटघाट गर्ने सहमति जुट्यो । विशेषगरी युवतीको अनुरोधपछि सविन पनि सक्रियालाई भेट्न तयार भए ।
त्यसपछि काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीस्थित एक होटलमा उनीहरूबीच भेटघाट गर्ने निधो भयो । सहमति अनुसार, सविन आफ्ना साथी लिएर गत शनिबार (२७ वैशाख) उक्त होटलमा पुगे । उता पूर्वयोजनाअनुसार सक्रिया पनि कविता राई नाम गरेकी अर्की युवती लिएर होटलमा पुगिसकेका थिए । प्रहरी अनुसन्धानका अनुसार, उनीहरू होटलको ४०२ नम्बर कोठामा भेला भए ।
ती युवाहरू प्रहरी भन्दै भित्र प्रवेश गरे । लगत्तै उनीहरूले डरत्रास देखाउन थालेको सविनले प्रहरीसमक्ष बताएका छन् । जेलभित्रै फसाइदिनेसम्मका धम्की दिए । सादा पोशाकको प्रहरी भएको उनीहरूले बताए । मोबाइलमा जुवासम्बन्धी एप डाउनलोड भएकाले जुवामा समेत फसाउने उक्त गिरोहले डर देखायो ।
सविनको २६ वैशाखमा मात्रै अमेरिकाको भिसा लागेको थियो । अमेरिकाको भिसा लागेको भोलिपल्टै सविन समस्यामा परे । आफ्नो अमेरिका यात्रासमेत रोकिनसक्ने सोचेर सविन रकम हाल्न तयार भए । मोबाइल वालेटबाट आफूसँग भएको ३ लाख ६३ हजार रुपैयाँ यो गिरोहको खातामा ट्रान्सफर गरे ।
त्यहाँबाट उम्किएपछि सविनलाई घटनाबारे शंका लाग्यो । लगत्तै, उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । उजुरीपछिको अनुसन्धानका क्रममा प्रहरीले दुई महिलासहित ८ जनालाई पक्राउ गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij