२०८२ फाल्गुण ३० गते शनिवार
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार आइतबार राति विराटनगर महानगरपालिका २ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । पुरुषमा संक्रमण पुष्टि भएसँगै आइतबार दिउँसो नै उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । अस्पताल भर्नाका क्रममा गम्भीर अवस्थामा रहेका विरामीको छातीमा समस्या र ज्वरो आएको दाहालले जानकारी दिए ।
नोबेलले यसअघि संक्रमितको उपचारका लागि आइसोलेसन सेवा बन्द गरेको थियो । तर दोस्रो लहरसँगै अवस्था गम्भीर बन्न थालेपछि आइतबारबाटै सो सेवा पुनः सञ्चालनमा ल्याएको हो । आइतबार पहिलोदिन नै ६ जना संक्रमित आइसोलेसनमा भर्ना भएका थिए । हाल अस्पतालको आइसोलेसनमा ५ जना संक्रमितको उपचार भइरहेको छ ।
विराटनगरमा वैशाख यता ५ जना संक्रमितको मृत्यु भइसकेको महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए । महानगरमा वैैशाखदेखि हालसम्म १ सय ४१ जना संक्रमित रहेको बताएका कार्कीले ३२ जना उपचाररत र ९ जनाको अवस्था गम्भीर रहेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij