२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-९ अठारेस्थित भित्री सडकमा आज बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
राक्सिराङ-९ खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप बिहान ८:१५ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। टोलीले स्थानीयबासीको सहयोगमा सबै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि मनहरी अस्पताल पठाएको हो।
दुर्घटनामा गम्भीर घाइते हुनेमा राक्सिराङ-९ का १६ वर्षीय हिमाल बस्नेत छन्, जसको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसैगरी सोही स्थानका ३५ वर्षीय बुद्धिमान घलान, अन्दाजी ७५ वर्षीय डिलबहादुर घलान, र उनको ७० वर्षीया श्रीमती फुलमाया घलान पनि गम्भीर घाइते भएका छन्।
उनीहरूलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यस्तै, ३८ वर्षीय रुप बहादुर राउत र ४८ वर्षीय दिपक खड्का पनि गम्भीर घाइते छन्।
दीपकलाई टाउको र शरीरमा चोट लागेको छ भने राउतको टाउकोमा चोट लागेको बताइएको छ। मध्यम घाइते हुनेहरूमा ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङ छन्।
सूर्यको हातमा चोट लागेको छ भने कुमारको टाउकोमा चोट लागेको छ। सवारीसाधनमा सवार २८ वर्षीय सुजन तामाङ भने सामान्य घाइते भएका छन्।
उनको हातखुट्टामा सामान्य चोट लागेको र उनलाई पनि प्रहरीको साथमा उपचारका लागि अस्पताल पठाइएको हो।दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भई खसेको हुन सक्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीसएपी० श्यामु अर्यालले जानकारी दिए। घाइतेलाई उपचारको लागि मनहरी अस्पताल लगिएको डीएसपी अर्यालले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij