Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप

शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप


  • 2.6K
    Shares

    शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप

    काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ ।

    सांकेतिक नाम ‘बानेश्वर २६(६४) क’ लाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ । उनी विद्यालयको प्रशासनतर्फ परीक्षा विभागमा कार्यरत रहेको विद्यालयले जनाएको छ ।

    विद्यालयका अनुसार मोरङको बेलबारी नगरपालिका घर भई काठमाडौंको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत थिए ।

    सुवेदीविरुद्ध पीडितकी आमाले शनिबार किटानी जाहेरी दिएकी छन् । प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । यौन बाल दुर्व्यवहारको कसुरमा सुवेदीलाई पक्राउ गरी पाँच दिनको म्याद थपेर प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।

    सुवेदीले २०८० चैत महिनामा ती किशोरीलाई पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । टिफिनको समयमा कक्षाबाट बाहिर निस्केको बेला सुवेदीले आफू एक्लै स्टाफ कोठामा बसी यता आऊ भनेर १४ वर्षीया ती किशोरीलाई बोलाउने गरेको किटानी जाहेरीमा उल्लेख छ । उनले स्टाफ कोठामा बोलाइ करणी गर्ने हिसाबले बालिकाका संवेदनशील अंगहरूमा छुनेरसमाउने र उनलाई पनि आफ्ना अंग छुने, समाउने गर्न लगाएको आरोप पीडितकी आमाको छ ।

    पछिल्लो पटक २०८० चैत २१ गते दिउँसो ३:३० बजे सुवेदीले सोही घटना दोहोर्‍याएपछि पीडित किशोरीले आमालाई सबै कुरा बताएकी थिइन् । त्यसपछि विद्यालयमा गुनासो गर्दा उल्टै मिलापत्र गर्न दबाब दिँदै छोरीलाई टर्मिनेट गर्दिने धम्की दिइएको पीडितकी आमाले बताइन् ।

    छोरीको पढाइको सवाल छ भनेर प्रभावित पार्ने र टर्मिनेट गर्दिन्छु भनेर स्कुलले दबाब दिई शुक्रबार मिलापत्र गर्न लगाएको उनले बताइन् । बेबीलोनका फाउन्डर तथा प्रिन्सिपल राजु राईसहितले मिलापत्र कागजमा हस्ताक्षर गर्न दबाब दिएको उनको भनाइ छ ।

    ‘पढाइको सवाल छ भनेर शुक्रबार मात्र धम्की दिई जबरजस्ती मिलापत्र गर्न लगाइएको थियो । प्रिन्सिपल र चेयरमेनसहित १०–१२ जना थिए । कानुन व्यवसायीहरू पनि आएका थिए,’ उनले भनिन् ।

    यद्यपि प्रिन्सिपल राईले भने विद्यालयले मिलापत्रका लागि दबाब दिएको सत्य नभएको दाबी गरेका छन् । प्रहरीले बोलाएपछि कर्मचारीलाई जिम्मा लगाएर आएका हौँ । दुर्व्यवहारको घटनामा हामी गम्भीर हुन्छौँ भनेका छौँ उनले भने, उहाँ (पीडित) की आमाले उक्त घटनाबारे बताएपछि हामीले आन्तरिक छानबिन गर्छौँ, दुर्व्यवहारका विषयमा गम्भीर छौँ भनेका हौँ । दुई वर्ष अघिदेखि पीडितकी आमा र ती कर्मचारीबिच विवाद रहेकाले सो आरोप लगाएको हुनसक्ने दाबी राईले गरे । हामीले सामान्य हेर्दा उहाँ (सुवेदी)ले परीक्षा हेर्ने भएकाले दुई वर्षअघिदेखि कन्फ्लिक्ट सुरु भएको देखिन्छ, थर बदल्न खोज्दा डिस्कस भएको देखिन्छ । त्यही डिसकसलाई इगोका रूपमा लिएर यहाँसम्म पुगेको र ब्याड टचको आरोप लगाएको हो जस्तो देखिन्छ, उनले भने । अन्य बालिकालाई पनि दुर्व्यवहार गरेको आरोप लागेको विषयमा सोध्दा पीडितकी आमाले त्यस्तो प्लटिङ गरेको आरोप राईको छ । 

    शुक्रबार मिलापत्र गरेको बताएकी पीडितकी आमाले शनिबार पुनः प्रहरीमा लिखित किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीमा सुवेदीले ती किशोरीलाई जस्तै अन्य विद्यार्थीलाई पनि बाल यौन दुर्व्यवहार गरेको दाबी गरिएको छ । जाहेरीमा पीडितका साथीहरूले पठाएको मेसेज स्क्रिन सर्ट समेत सबुद प्रमाणका रूपमा पेस गरिएको उल्लेख गरिएको छ ।

    सुवेदीलाई मुलुकी अपराध संहिता २०७४ दफा २२५ बमोजिम बाल यौन दुर्व्यवहार कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त व्यवस्थाअनुसार सुवेदी दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १५:०३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij