२०८२ चैत्र २ गते सोमवार
गोरखा । चालु आर्थिक बर्षको विकास निर्माणका योजनाहरु माघ महिनाभित्रै सम्पन्न गरेको वडा न. ७ लाई सहिदलखन गाउँपालिकाले सर्वोत्कृष्ट वडा घोषणा गरेको छ । गतबर्ष पनि उत्कृष्ट घोषणा भएको सो वडालाई पालिकाले यसबर्षको पनि उत्कृष्ट घोषणा गरेको हो ।
बिभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक मूल्यांकनको आधारमा उक्त वडालाई फेरिपनि २०८१ सालको उत्कृष्ट घोषणा गरेको हो । पालिकाले बिभिन्न सूचकहरु बनाएर गत आर्थिकबर्षबाट वडाहरुको कामको मूल्यांकन सुरु गरेको थियो । पहिलो बर्षको मूल्यांकनमा पनि र अहिले पनि वडा नं ७ लाई उत्कृष्ट वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।
योजना छनोट, योजना सम्झौता, योजना कार्यान्वयन, रकमान्तर, भुक्तानी, सेवा प्रवाह, राजश्व संकलन, बेरुजु, सुशासन लगायतका सूचकका आधारमा सो वडा उत्कृष्ट बनेको उनले जानकारी दिए । ‘लिजाको आधारमा पालिकाको मूल्यांकन हुन्छ । हामीले पनि वडाहरुको त्यस्तै मापदण्ड बनाएर मूल्यांकन गरेका छौँ’, उनले भने, ‘सोही मापदण्ड अनुसार वडाले गरेको कार्यसम्पादनको आधारमा अंकभार प्रदान गर्छौँ ।’ गत वर्षको बैशाखदेखि चैत्र मसान्तसम्मको कार्यसम्पादनको आधारमा वडा नम्वर ७ उत्कृष्ट बन्न सफल भएको उनले बताएका छन् ।
उत्कृष्ट बनेवापत यो बर्ष पनि सो वडाले थप पाँच लाख बजेट प्राप्त गरेको पालिकाले जनाएको छ । ‘कार्यसम्पादनको आधारमा उत्कृष्ट बन्ने वडालाई प्रोत्साहन स्वरुप पाँच लाख रुपैयाँ दिइन्छ । त्यो रकम वडाले भौतिक पूर्वाधारमा खर्च गर्नुपर्ने हुन्छ,’ पालिका अध्यक्ष मगरले भने । रकम ठूलो अंकको नभए पनि हौसला, प्रोत्साहन ठूलो कुरा भएको पालिकाले जनाएको छ ।
काम गर्ने जोश जाँगर बढाउँदै वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको उनले बताए । आगामि बर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ । ‘हामी समीक्षा बैठक बसेर मूल्यांकनका केही इण्डिकेटरहरुलाई पुनः मूल्यांकन पनि गर्न सक्छौँ,’ उनले भने । यो कार्यक्रमले वडाहरुलाई कार्यसम्पादनमा थप हौसला प्रदान हुने उनको अपेक्षा छ ।
सहिदलखन गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष शरण श्रेष्ठले कर्मचारी र जनप्रतिनिधिको मिहिनेतका कारण पुन दोस्रो पटक ‘उत्कृष्ट वडा’ बन्न सफल भएको बताए । वडाको कर्मचारी र जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी इमान्दारिता पूर्वक पूरा गरे सफलता पाइने उनले बताएका छन् ।
उनी भन्छन्, ‘हामी जनप्रतिनिधि, वडाको कर्मचारी र स्थानीयबासी बीचको समन्वयात्मक कामले नै यो सफलता हात परेको हो । साथै, पालिका, वडाभित्रका टोल समितिहरु, राजनीतिक दल र विभिन्न संघ संस्थाहरुसँगको समन्वय सहकार्यले पनि यो उपलब्धी प्राप्त गरेका हौँ ।’ पालिकाले निर्देशन गरेको मापदण्ड अनुसार काम गरेका कारण उत्कृष्ट बनेको वडाअध्यक्ष श्रेष्ठको भनाइ छ ।
उक्त वडाले आर्थिक वर्ष २०८१/८२ को भौतिक पूर्वधारका सबै योजनाहरु गत माघमा सम्पन्न गरिसकेको छ । वडाले चालु आवको दोस्रो चौमासिक नसकिँदै वडास्तरमा पूर्वधार निर्माणका सबै योजनाहरु सम्पन्न गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij