Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कांग्रेसलाई खेलाउँदै छन् ओली, एमालेको हातमा पुग्दै छ गभर्नर ?

कांग्रेसलाई खेलाउँदै छन् ओली, एमालेको हातमा पुग्दै छ गभर्नर ?


  • 5.3K
    Shares

    • images
    कांग्रेसलाई खेलाउँदै छन् ओली, एमालेको हातमा पुग्दै छ गभर्नर ?

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई खेलाई खेलाई गभर्नर आफ्नो हातमा पार्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा गभर्नरका लागि योग्यता नै नपुग्ने गुणाकर भट्टको लागि अडानमा उभिएपछि ओलीले आफूअनुकूल माहोल तयार गर्दै लगेका छन् ।

    ओलीले अर्थमन्त्री विष्णु पौडेलमार्फत् एकातिर आफूनिकट निलम तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी दिन लगाएका छन् । अर्कोतिर तिनै निलमलाई गुणाकरको राजीनामा स्वीकृत नगरी रोक्न लगाएका छन् । अनि अर्थमन्त्री विष्णु पौडेलले महिनौँ दिनसम्म पनि गभर्नर सिफारिस समितिको बैठक नै नबोलाई बसेका छन् । उनले यो सबै ओलीकै निर्देशनमा गरेका हुन् भन्नेमा कुनै शंका छैन । 

    हुँदाहुँदा ओलीले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस समितिमा आफ्नै विश्वासपात्र महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेका छन् । यसअघि विजयनाथ भट्टराई सदस्य थिए । उनी विष्णु पौडेलले बैठक नै नबोलाएको भन्दै राजीनामा दिएर बाहिरिएपछि उक्त पद रिक्त थियो । अब सिफारिस समितिमा मन्त्री पौडेल र पूर्वगभर्नर अधिकारी समेत गरी दुई जना एमालेका भएका छन् । विश्वनाथ पौडेल मात्र कांग्रेसका सदस्य रहेका छन् । 

    अब सिफारिसमा पनि कांग्रेसका उम्मेदवार केवल बहाना पुर्‍याउनका लागि मात्र हुनेछन् । एमालेले कांग्रेसको उम्मेदवार गभर्नर हुनै नसक्ने गरी तारतम्य मिलाइरहेको छ । गुणाकरको कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा स्वीकृत नगरेसम्म उनी यस पदमा सिफारिसकै लागि अयोग्य हुनेछन् । गुणाकरबाहेक अब जो सिफारिसमा परे पनि ओलीले आफ्नै मान्छे टिप्नेछन् । 

    देउवाले कांग्रेसका खास मान्छे ज्ञानेन्द्र ढुंगाना हुँदाहुँदै उनको सिफारिस नगर्दा ओलीलाई आफ्नामा लागि माहोल बनाउन सहज भएको हो । ढुंगानालाई सिफारिस गर्दा उनको नाममा कसैले विवाद गर्नेवाला थिएन । उनलाई एक विशुद्ध व्यावसायिक दक्षता अनि ख्यातिका कारण सबैले मान्नेवाला थिए । उनलाई सर्वस्वीकृत उम्मेदवारका रुपमा पनि हेरिएको थियो । 

    तर देउवाले त्यो बुझेनन् । उनी उग्रतारा मन्दिरका पुजारीको सिफारिस अनि गुणाकरको आलोकाँचो महत्त्वाकांक्षाको भुमरीमा परे । गुणाकरले पनि तत्काल डेपुटी गभर्नर बन्ने र चार वर्षपछि गभर्नरका लागि तयार बस्ने बस्ने धैर्य गरेका भए अहिलेसम्म कांग्रेसको पोल्टामा गभर्नरका साथै डेपुटी गभर्नर समेत परिसक्ने निश्चित थियो । 

    अब गुणाकरलाई बन्न नदिन कांग्रेस महामन्त्री गगन थापा पनि लागिपरेका छन् । गुणाकर बन्दा देउवाको शक्ति बढ्ने भएकाले गगन उनलाई रोक्न लागिपरेका हुन् । यसका लागि उनी ओलीलाई सक्दो चिढ्याउने गरी अघि बढेका छन् । 

    गगनका पछिल्ला दिनका व्यवहारका कारण कांग्रेसले सरकार नै फेर्न लागेको भन्ने आभास ओलीलाई भइसकेको छ र अब कांग्रेसको सिफारिस तथा दबाब मान्नैपर्छ भन्ने बाध्यताबाट उनी माथि उठेका छन् । त्यसैले उनले अबको एक मात्र ध्येय राष्ट्र बैंकको नेतृत्व आफ्ना विश्वासपात्रलाई सुम्पने गरी तारतम्य मिलाउँदै छन् । अनि हेरेको हेर्‍यै हुने पालो गुणाकर र देउवाको एकसाथ हुने भएको छ ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - ११:३४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij