२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राउटे समुदायका एकजना मुखिया सूर्य नारायण शाहीको ४९ वर्षको उमेरमा निधन भएको छ ।
बराहताल गाउँपालिका–८ स्थित सोत खोलामा बस्दै आएका शाहीको गए राति साढे ९ बजे निधन भएको हो ।
राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका जोडी शिक्षक दुर्गा खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको आशंका गरिएको छ ।
अहिले उनी बिरामी थिएनन्, तर केही दिनयता अत्यधिक र लगातार मदिरा सेवन गरेका थिए,’ खत्रीले भनिन्,’तीन दिनअघि मात्रै एक पेटी मदिरा ल्याएर सबैले पिएको सुनिएको छ ।’
शाही सन् २०७२ को जेठ महिनामा मुखिया बनेका थिए। उनी राउटे समुदायको रास्कोटी गोत्रका प्रतिनिधि थिए । राउटेको परम्परागत सामाजिक संरचनाअनुसार तीनवटा गोत्र छन् र प्रत्येक गोत्रबाट एक जना मुखिया चयन गरिन्छ ।
हाल राउटे समुदाय दुई समूहमा विभाजित भएर सुर्खेतको दुई स्थानमा बसोबास गर्दै आएका छन्। एक समूह सूर्य नारायणको नेतृत्वमा सोत खोलामा बस्दै आएको थियो भने अर्को समूह दुईजना अन्य मुखियासहित वीरेन्द्रनगर–१३ स्थित करेखोलामा छ ।
मुखिया शाहीको निधनसँगै राउटे समुदायमा ठूलो क्षति पुगेको छ। हाल राउटे समुदायको संख्या घटेर १३५ मा झरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij