Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान

भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान


  • 4.0K
    Shares

    • images
    भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान

    काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिटिभीले जनाएको छ।

    ‘लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा केही फायरिङ भएको थियो। यो फायरिङको जबाफी हो,’ भारतीय सैनिक स्रोतले एनडिटिभीसँग भनेको समाचारमा उल्लेख छ।

    भारतको जम्मू-कश्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको हो। गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।

    पाकिस्तान नियन्त्रित काश्मिरका अधिकारी सइद अश्फाक जिलानीले पनि राति फारियङ भएको एएफपीसँग बताएका छन्। तीन जना भारतीय सैनिकले रोयटर्सलाई दिएको जानकारी अनुसार पाकिस्तानी सेनाले सुरूमा भारतीय क्षेत्रमा गोली प्रहार गरेका थिए।

    पहलगाम हमलापछि भारतीय सेनाले ‘सर्च एन्ड डिस्ट्रोइ’ अपरेशन सञ्चालन गरेको छ। सर्भिलेन्स ड्रोन र सैनिकहरू काश्मिर क्षेत्रमा परिचालन गरेको छ।

    अहिले तीन जना आतंकवादीको खोजीका लागि सेना परिचालन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। शुक्रबार मात्रै भारतीय अधिकारीले काश्मिर क्षेत्रमा बस्दै आएका आरोपीका दुई वटा घर भत्काएको छ। दुई देशबीचको सम्बन्ध बिग्रिएपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरेको छ।

    ‘अधिकतम संयमता अपनाउन तथा परिस्थिति र घटनाक्रम थप बिग्रिन नदिन सुनिश्चितताका लागि हामी दुबै सरकारलाई अपिल गर्न चाहन्छौं,’ राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले भनेका छन्,‘ हामी दुई देशबीचको कुनै पनि समस्या शान्तिपूर्ण र आपसी संलग्नताले समाधान गर्न सकिन्छ भन्नेमा विश्वास गर्छौं।’

    बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २६ जनाको हत्या गर्नेलाई पक्राउ गरी न्याय दिलाउने बताएका थिए। ‘म विश्वलाई बताउन चाहान्छु, भारतले हरेक आतंकवादी र उनलाई समर्थन गर्नेको पहिचान, ट्र्याक र कारबाही गर्नेछ,’ उनले भनेका थिए। पाकिस्तानले भने पहलगाम घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको छ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १३:५५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij