२०८२ चैत्र २ गते सोमवार
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६जनाविरुद्ध वन मुद्दा दायर भएको छ।
नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो।
वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर भएको हो। वन तथा वातावरण मन्त्रालय दायर गरेको मुद्दाको दर्ता नम्बर ०८१-सी २-०००१ छ। उनीहरूविरुद्ध ५ वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनुपर्ने मागदाबी छ।
२०७४ सालमा बागमती नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख भरत थापाले नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए।
सागरनाथ विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी, परियोजनाको बिनाकुनै स्वीकृति त्यस क्षेत्रको ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी माछा पोखरी खन्ने भनेर बनाएको परियोजनालाई पछि नगर प्रमुखकै नामबाट भरत ताल नाम राखिएको थियो। अहिले यो ठाउँ पर्यटकीय स्थल बनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij